Total Pageviews

Sunday, June 14, 2009

देश र हामी

सधैं प्रतिशोधको
क्रोधाग्निमा जल्छौं हामी
व्यर्थको घमण्ड गर्छौं -
जब कि हामीले
पिउँने हावा उही हो
पानी उही हो
र, ताप्ने न्यानो घाम ,
आगो उही हो
रुझाउँछ झरीले उसरी नै
दुख्याउँछ घाउले उसरी नै
र झस्किन्छौं मृत्युले हामी उसरी नै
अब के फरक छ ?
रगत ? वा, विचार ?
हो, विचार फरक छ
किनकी त्यस्तो पाठशाला नै बनेन
जहाँ समान शिक्षा हुन्छ विचारको
त्यस्तो घर नै बनेन
जहाँ समान संस्कार हुन्छ सभ्यताको
राज्यले अपहेलित गरेको
दुर्गम गाउँघर बन्यौं कति
जात धर्मका अन्ध धिर्तराष्ट्र बन्यौं कति
र, कति बन्यौं राजनैतिक विभुषण
एउटै देशको सिमा भित्र रहेर पनि
एउटै राष्ट्रिय गीत गाएर पनि
एउटै सहकालमा जन्मेर हुर्के पनि
फरक आडम्बरहरुको घर बनायौं
र, बार्यौं त्यसलाई घ्रिणाका पर्खालहरुले
र ताप्यौं छिमेकीको जलिरहेको घर
न्यानो मान्दै ,
भुल्यौं हामी निस्केका थियौं
हात्तेमालो गर्दै -
उही युगमा ,उही भेषमा
स्वतन्त्रताको एउटै आवाज लिएर
प्रगतिको एउटै शपथ लिएर
विद्रोहको एउटै नारा लिएर
लोकतन्त्र जिन्दावाद !
गणतन्त्र जिन्दावाद !!
लोकतान्त्रिक गणतन्त्र जिन्दावाद!!!

No comments:

Post a Comment