Total Pageviews

Thursday, July 23, 2009

युरोपेली पर्यटक सँग ! (अकविता )

महाशय !
यो पेटी भिकारीहरुका लागि हो
र , यो सडक धनी र मन्त्रिका गाडीहरु
कुद् नका लागि बनाईएको हो
मौरी जस्ता यी कर्मशील मान्छेहरु
घाम नछिर्ने गल्लीहरु भित्र बस्छन्
र भोक नदेखिने वस्तीहरु भित्र हराउँछन्
महाशय !
तपाईंले देखिरहनु भएको
यी अग्ला भवनहरु
मात्र जुवाघर हुन् ,नाईट्क्लबहरु हुन्
यहाँबाट देश कहिले चिहाउँन सकेन कोहि
तपाईंहरु सँग विकासका हिम शिखरहरु छन्
र , हामी सँग विकट हिम चुचुराहरु मात्र छन्
महाशय !
तपाईंका दयाहरुले , मायाहरुले
हाम्रो तस्विर कहिल्यै फेरिएन
तस्विर फेर्नेहरु उही भए पछि
कसरी फेरियोस् दृष्य ?
टिनका बाकसमा लाहूरेले
दुईचार जोर लुगाफाटो र दुईचार हजार
बोकेर ल्याउँदैमा फूलमायाको घर फेरिदैन
न त अरबमा पसिनाको असार रोप्नेहरुले
फेर्न सक्छन् यो घर !
यो घर फेर्न इमान्दार कर्मीहरु चाहिन्छ
संकल्प चाहिन्छ
इँट्टा बनाउँने चाहिन्छ ,
इँट्टा फुटाउँनेहरुले कसरी बनाउँछन् घर?
लखनको ढोका नभएको घर हो यो देश
जो पनि पस्न सक्ने , बस्न सक्ने
र चुस्न सक्ने -
ढोका बनाउँनु छ जसरी पनि
महाशय !
वर्तमानमा बाँच्नेहरुलाई
इतिहासले मात्र कसरी खान दिन्छ ?
जिर्ण बन्दैछन् मल्लकालिन दरबारहरु र मन्दिरहरु
त्यही तल बसेर युवक
पिउँछ तिम्रो सभ्यताको धूँवा
किशोरहरु अध्ययन गर्दैछन् बन्दकोठा भित्र
तिम्रो देशका अश्लिल सिनेमाहरु
हामीले सिकेका सभ्यताहरु
यहाँ भन्दा पर छैनन्
खान सिक्यौं , लाउन सिक्यौं
तर आँफै बनाउँन सिकेनौं
भ्यालेन्टाईन् डे याद छ
तर आफ्नै आमाको जन्मदिन भुल्छौं
महाशय !
अब हामीले तयार गर्नु छ
एकदमै सुपर हिट हाम्रो लोक गीत
त्यसपछि बल्ल नाँच्नेछन्
रोपाहाहरु, जोताहाहरु
सुतुवाहरु , मुतुवाहरु
भुकुवाहरु...
छिट्टै तयार पार्नु छ
त्यो हाम्रो गीत -
हाम्रो संविधान ,
महाशय !
भिजीट नेपाल २०११ मा
पून स्वागत गरौंला
नयाँ संविधान सँगै
अहिलेलाई बिदा !
गुड वाई !!

1 comment:

  1. ma santosh shrestha.inaruwa-2 shanti chowk sunsari Nepal r ahile BAHRAIN ma normal job gariraheko 6u.ma pani dherai padhera asal teacher wa professor banne mero chahana thiyo tara tyo sabai chaitra ho huri bataas aaye jastai gari yo man 6idra 6idra hune gari chakanachur vayo,tehi vayera ma aafno gharko aarthik aawasthale garda ma "MUGLAAN" pase sampati kamaaunalai,aba vanus mitra,ma kasto khaalko blog archieve garau hol,kehi sujhawa wa sallhhaa dina saknuhun6 ki plz,malai hajurko blog ekdam manparyo r ma pani hujrjastai nata writer nata lecture.......
    tapaiko sahapaathi mitra
    santosh shrestha
    known as sndpshrestha

    ReplyDelete