Total Pageviews

Thursday, July 23, 2009

देश दुखेको छाती

प्रियम्वदा !
म किन लेख्न सक्तिनँ आजकल
तिम्रा लागि प्रेम कविताहरु
किन गर्न सक्तिनँ हिजो जस्तो
तिम्रो रुपको वर्णन ?
तिम्रो आँखा , ओठ र मुस्कानमा
किन देश दुखेको तस्विर मात्र पाउँछु ?
तिमीले माया गर्ने त्यो प्रेमी
म बाट निक्लेर
कतै हिंड्यो
माफ गर !
म सँग अब कुनै
प्रेमील सपनाहरु छैनन्
मैले आशारामहरुका घाउ
छातीमा लिएर हिंडेको छु
मलाई मेरै बाबुको
फाँटेको कमिज भन्दा
किन बढी चिन्ता
त्यो अपरिचित भोको बालकको?
म सहिदका कुल्चिएका सपनाहरुसँग
निस्सासिन्छु - एैठन हुन्छ ,
मैले तिम्रा इच्छाहरुसँग
साटेको छु चिसा पेटीमा सुतेका
खातेबालकहरुको भविष्य
र , सम्साझै निभ्दै गरेका
टुकीहरुको बस्तीसँग
जलाएको छु आँफूलाई ।

No comments:

Post a Comment