सधैं स्वतन्त्र उडिरहेका हुन्छन्
हाम्रा बस्तीका आकाशमा -
हिंस्रक चील र बाजहरु
वस्तीभरि छन् गुँलेली भिर्ने
ठिटाहरु झार्छन निरीह ढुकुरहरु
र काफल खाँदै गरेका जुँरेलीहरु
तर सक्दैनन् आफ्नै कुखुराका चल्लाहरु बचाउँन
हिंस्रक चील र बाजहरुबाट
ठिटाहरुका मट्याङ्ग्राले झार्न त के
छुन सम्म सक्तैन चील र बाजहरुलाई
भीर ,पँखेरा र अग्ला सल्लाका
रुखहरु जहाँ तही सुरक्षित हुर्किरहेका हुन्छन्
नयाँ नयाँ चील र बाजहरु
न त भत्काउँन सके कसैले यिनका गुँडहरु
तर भत्काउँदै हिंड्छन्
निरीह गौथलीका गुँडहरु -
गुँलेली भिर्ने ठिटाहरु ।
No comments:
Post a Comment